चितुवाको छालासहित दुई जना पक्राउ
धनगढी , २८ कार्तिक
कैलालीमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा चितुवाको छाला बरामद गरेको हो।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ नयाँरोडस्थित होटल नजिकबाट बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ निवासी ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीता देवी चौधरीलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट चितुवाको छाला एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बरामद गरिएको चितुवाको छालासहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





