खुम्बुमा भारी हिमपात, सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु , १० असोज
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ। निरन्तर वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। हिमपातका कारण जोखिम बढेपछि माथिल्लो क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीलाई थप अघि बढ्न रोक लगाउँदै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ।

भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ। स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षा निकायको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको प्रशासनले जनाएको छ।
प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ। प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेका छन्। उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको भन्दै पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा गाउँपालिकाले जारी गरेका सुरक्षा सूचनाको पालना गर्न आग्रह गरेको छ। हिमपात थप बढेमा उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय गरी तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





