यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह
काठमाडौं, १० असोज
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन असोज ६ गते संयुक्तराज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। महासभालाई सम्बोधन गर्दै उनले जलवायु न्यायलाई दस्तावेजमा मात्र सीमित नराखी जलवायु प्रभावित देशका नागरिकलाई आफ्नो भविष्य निर्माण गर्ने अवसर दिनुपर्ने बताएका थिए। भोटेकोशी बाढीलाई विश्वकै लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनले कुनै भौगोलिक सीमा नचिन्ने उल्लेख गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटमा गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न पनि प्रस्ताव गरेका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





