धार्मिक संरचना जोगाएर वीरगंजको मुख्य सडक विस्तार गरिने
वीरगंज , १० असोज
वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिदलगायतका संरचना यथास्थानमै संरक्षण गरेर सडक निर्माण अघि बढाइने भएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सडक विस्तारबाट प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँगको छलफलमा धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षणलाई प्राथमिकतामा राखेर सडक विस्तारको डीपीआर तयार गरिएको जानकारी दिनुभयो। महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायत संरचना यथास्थानमै रहने गरी निर्माण अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।

सडक विस्तारबाट प्रभावित घरधनीका समस्या सम्बोधन गर्न सडक सीमा छाडेर निर्माण गर्दा कायम गर्नुपर्ने ५ फिट सेडब्याक व्यवस्थामा पुनर्विचार गर्ने तथा नयाँ संरचना निर्माणका लागि नक्सापासमा आवश्यक छुट र सहुलियत उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ। यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गरिने मेयर सिंहले बताउनुभयो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





