अब वीरगञ्जका वडा कार्यालयबाटै मालपोत कर तिर्न सकिने
वीरगञ्ज , १० असोज
वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिनेछ। नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने नीति अनुरूप वडा कार्यालयबाटै कर संकलनको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।


महानगर प्रमुख राजेशमान सिंहले नगरवासीले कर बुझाउन महानगरपालिका कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गरिएको बताउनुभयो। उहाँले महानगरबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नागरिकको घरदैलो नजिक पुर्याउने तथा सेवा लिन लाग्ने समय र खर्च बचत गर्ने उद्देश्यले काम भइरहेको बताउनुभयो।

मालपोत कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिनुभएको छ। उहाँले जारी गर्नुभएको सूचनामार्फत नगरवासीलाई अबदेखि सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन आग्रह गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





