सुस्तामा नारायणीको बाढी बस्तीमा पस्यो, ७८ परिवार सुरक्षित स्थानमा सारिए
नवलपरासी, १० असोज
निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा पस्दा स्थानीयवासी प्रभावित भएका छन्। बाढीका कारण केही घर डुबानमा परेपछि ७८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार बाढी घरमा पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। केही परिवार आफन्तको घरमा र केही सुस्तामा रहेको सामुदायिक भवनमा आश्रय लिएर बसेका छन्।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको सहयोगमा थारु टोलका प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। नारायणीको बाढी बस्तीमा प्रवेश गरेपछि घरसँगै खेतबारी र बाटोसमेत डुबानमा परेको छ।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार लगातारको वर्षाले थारु टोलमा ठूलो क्षति पुर्याएको छ। उनका अनुसार नारायणीको बाढीले उनको करिब १० कठ्ठामा लगाइएको उखु बाली बगाएको छ। अन्य किसानको धान, उखुलगायतका बालीसमेत कटान गरी बगाएको उनले बताएका छन्।
नारायणी नदीले वर्षायाम सुरु भएयता सुस्तामा निर्माण गरिएको अस्थायी बाँध कटान गर्दै आएको छ। नदी कटानका कारण सुस्ताको ठूलो भूभाग प्रभावित हुँदै आएको स्थानीयवासीले बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





